मनोशक्ति एवं सकारात्मक सोच तथा माटो बचाउ राष्ट्रिय अभियान बिषयक एक दिवसीय तालिम

संस्थाले माइन्ण पावर एण्ड करियर डेभलोपमेन्ट इन्टरनेसनल ट्रेनीङ्ग प्रा लि को प्राविधिक सहयोगमा प्रशिक्षक बिपी रेग्मी मार्फत हाम्रो सम्पूर्ण सेवाकेन्द्रमा फिल्ड तथा रेसेप्शनमा कार्यरत कर्मचारी ज्यूहरुलाई मनोशक्ति एवं सकारात्मक सोच तथा माटो बचाउ राष्ट्रिय अभियान बिषयक एक दिवसीय तालिम आयोजना गरि मिति २०८१ असार ६ गते सम्पन्न गरेको छ।


सो तालिमको सहजीकरण गर्दै प्रशिक्षक बीपी रेग्मीले जीवन र जगतका विषयमा केन्द्रीत रहेर त्यसप्रति आफ्नो बुझाइ र भोगाइ अभिव्यक्त गर्नु भएको थियो ।

“काम थाल्नु अघि नै म यो सक्दै सक्दिन, मबाट हुँदै हुँदैन भन्दै पन्छिने बानीले आफैंलाई हानी गर्छ” प्रशिक्षक रेग्मीले, “काम शुरु नगरी हामी हरेश खान्छौं, बहाना बनाउँछौँ, बहानाले सधैं पछि परिन्छ, बहानालाई चाहनामा बदल्ने आँट गर्नुपर्छ, अनि मात्र सफल भइन्छ ।”

जीवनमा असम्भव भन्ने केही पनि नहुने भन्दै उहाँले लक्ष्य पूरा गर्न तीव्र इच्छाशक्ति र दृढ संकल्प मात्र भए पुग्ने दाबी गरे ।

“संकल्पको विकल्प अरु केही हुनै सक्दैन, संकल्पको विकल्प मात्र संकल्प हुन्छ” सहभागीलाई उत्प्रेरणा जगाउँदै उहाँले भन्नुभयो, “म गर्न सक्छु भनेर आँट गर्नुपर्छ, हिम्मत लिनुपर्छ, यति गरेपछि नहुने के छ र ?”

कुनै कामका लागि आफूमा संकल्प छ कि छैन, त्यो नै महत्वपूर्ण कुरा हुने बताउँदै सहजकर्ता रेग्मीले होला कि नहोला भन्दै शंकाको घेरामा परेको व्यक्तिको जिन्दगी सधैं अरु कसैको हातमा हुने ठोकुवा गर्नुभयो ।

कर्णाली बचत तथा ऋण सहकारी संस्थाले झापामा अगुवाई गरेको कृषि क्रान्ति, माटो बचाउ अभियानको प्रशंसा गर्दै उहाँले भन्नुभयो, ‘माटो बचाउनु भनेको माटो मात्रै बचाउनु होइन, आफ्नी आमा बचाउनु हो, तपाईंहरु सबै यो अभियानको अभियन्ता बन्नुभएको छ ।’

प्रशिक्षक रेग्मीले आफ्नो जीवन संघर्षका तीता-मीठा अनुभव र अनुभूति सुनाउँदा आफूहरुमा उर्जा भरिएको सो तालिममा सहभागी अधिकांशले प्रतिक्रिया व्यक्त गर्नुभएको थियो ।

सो अवसरमा पूर्वसांसद् एवं माइण्ड पावर एण्ड करियर डेभलपमेन्ट इन्टरनेशनल ट्रेनिङ प्रा लि का प्रमुख सल्लाहकार पदम भण्डारी, प्रबन्ध निर्देशक अम्बिका घिमिरे, प्रा लि का सदस्य सञ्जोक लिम्बू, कृषि सामग्री उत्पादक कम्पनी (जीएमटी) का पूर्वाञ्चल प्रतिनिधि भूवन भण्डारी लगायतले आ–आफ्ना विषयमा सहजीकरण गर्नु भएको थियो भने संस्थाको अध्यक्ष टसबहादुर प्रधानको अध्यक्षतामा आयोजित कार्यक्रममा शाब्दिक स्वागत संस्थाको प्रमुख कार्यकारी अधिकृत कुमार याक्सोले गर्नु भएको थियो ।

संस्थाको विभागीय प्रमुखहरु, रिसेप्सनिस्ट, फिल्ड कर्मचारी लगायत गरी २२५ जना सहभागी कार्यक्रमको सञ्चालन संस्थाका सचिव भूपाल बस्नेतले गर्नुभएको थियो ।



Leave a Reply